तोरीको तेल नेपाली भान्सामा अत्यन्तै लोकप्रिय वनस्पति तेल हो, जसको प्रयोग नेपाली समाजमा बर्षौ देखि हुँदै आएको छ। यो तेल केवल परिकारमा स्वाद दिन मात्र नभएर यसको स्वास्थ्य सम्बन्धी फाइदाका कारण पनि यसले परम्परागत औषधिको रूपमा महत्वपूर्ण स्थान ओगटेको छ। तोरीको तेलले शरीरको भित्री प्रणालीदेखि लिएर बाहिरी हेरचाहसम्ममा निकै प्रभावकारी भूमिका खेल्दछ।
तोरीको तेलको उत्पत्ति र प्रयोगको इतिहास हेर्ने हो भने, यो प्राचीन आयुर्वेदिक चिकित्सा प्रणालीसँग सम्बन्धित भएको पाइन्छ। भारत, नेपाल र बङ्गाल क्षेत्रको ग्रामीण समाजमा यो तेलको प्रयोग अत्यधिक रूपमा हुने गरेको छ। विशेष गरी परम्परागत रूपमा घरघरमा तयार पारिएको काठे घानीको तोरीको तेललाई अझ शुद्ध र औषधीय मानिन्छ। आधुनिक समयमा विभिन्न प्रकारका प्रशोधित र रसायन प्रयोग गरिएको तेलहरूले बजारमा स्थान बनाए पनि प्राकृतिक गुणयुक्त तोरीको तेलप्रतिको आकर्षण झनै बढ्दो छ।

तोरीको तेलमा पाइने ओमेगा-३ र ओमेगा-६ फ्याटी एसिड, भिटामिन ई, सेलेनियम, आइरन, म्याग्नेसियम र एन्टी-अक्सिडेन्ट्सले शरीरमा आवश्यक पोषण दिन्छन्। साथै, यसले शरीरलाई प्राकृतिक रूपमा निरोगी राख्ने क्षमता राख्दछ। धेरैजसो अनुसन्धानहरूबाट पनि तोरीको तेलको उपयोगिता पुष्टि भइसकेको छ।
तोरीको तेल स्वास्थ्यको लागि एकदमै लाभदायक मानिन्छ। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल (LDL) लाई कम गर्ने र राम्रो कोलेस्ट्रोल (HDL) बढाउने काम गर्छ। कोलेस्ट्रोलको सन्तुलनले मुटुका रोगहरू जस्तै उच्च रक्तचाप, हृदयघात र कोरोनरी धमनी अवरोधजस्ता समस्या कम हुन्छन्। साथै, यसमा रहेको फ्याटी एसिडले रक्त नलीहरूलाई लचिलो बनाउने काम गर्छ, जसले रगतको बहावलाई सहज बनाउँछ।
तोरीको तेलमा रहेको एन्टी–इन्फ्लेमेटरी गुणले शरीरमा हुने सुजन वा दुखाइ कम गर्न सहयोग पुर्याउँछ।
संधिवात, आर्थराइटिस, ग्यास्ट्रिक समस्याहरूमा यो तेलले राहत पुर्याउँछ। वृद्ध व्यक्तिहरूलाई घुँडाको दुखाइ, जोर्नीमा दुखाइ, वा शरीर दुख्ने समस्यामा तोरीको तेलमा मेथी हालि तताएर मालिस गर्दा उल्लेखनीय राहत मिल्ने गरेको छ।
तोरीको तेलले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छ। एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी–अक्सिडेन्ट गुणले यसलाई प्राकृतिक रोग–निरोधक पदार्थ बनाउँछ। चिसो मौसममा रुघाखोकी, छातिमा जमेको कफ, वा घाँटी दुख्ने समस्यामा यसलाई लसुनसहित तताएर छाती र पिठ्युँमा सक्ने गर्दा राम्रो प्रभाव देखिन्छ। यसरी घरेलु उपचारको रूपमा समेत यसको उपयोगिता उल्लेखनीय छ।
तोरीको तेलले छालाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्दछ। विशेषगरी चिसो मौसममा छाला फाट्ने, सुख्खा हुने वा चिलाउने जस्ता समस्याहरुमा यसको प्रयोग निकै उपयोगी हुन्छ। यसमा पाइने “भिटामिन ई” ले छालाको कोशिकालाई पोषण दिन्छ, उम्रिँदै गएको छालामा जीवन्तता ल्याउँछ र सूर्यको हानिकारक किरणबाट जोगाउँछ। बच्चाहरूलाई तोरीको तेलले नियमित मालिस गर्दा छालाको प्राकृतिक सुरक्षा प्रणाली बलियो हुन्छ।
शिशुहरूको हेरचाहमा तोरीको तेलको उपयोग परम्परागत रूपमा गहिरो रहेको छ। नवजात शिशुलाई नुहाउनु अघि तोरीको तेलले मालिस गर्दा उनीहरूको स्नायु प्रणाली बलियो हुन्छ, हड्डीको विकास राम्रो हुन्छ, र निद्रामा सुधार आउँछ। यसले उनीहरूको रोगसँग लड्ने क्षमता पनि बढाउँछ। आधुनिक बाल चिकित्सकहरू पनि प्राकृतिक तेलको प्रयोगलाई स्वागतयोग्य मान्छन्, विशेष गरी प्रशोधित तेलको सट्टा घरेलु शुद्ध तेल प्रयोग गर्दा कुनै नकारात्मक असर नपर्ने बताउँछन्।
तोरीको तेलको अर्को ठूलो फाइदा भनेको पाचन प्रणालीमा पर्ने सकारात्मक प्रभाव हो। यसले पाचन प्रक्रिया सुधार गर्छ, पेटको अम्लता घटाउँछ, र कब्जियत हटाउँछ। नियमित रूपमा यस तेल प्रयोग गरिने खाना खाँदा पेटमा भारीपन वा ग्यासको समस्या कम हुन्छ। साथै, यसले आन्द्राको स्वास्थ्य सुधार गर्छ, जुन सम्पूर्ण स्वास्थ्यको मूल आधार हो। कुनै अनुसन्धानहरूमा त तोरीको तेलले पेटको क्यान्सरको जोखिम पनि कम गर्ने कुरा उल्लेख गरिएको छ।
टाउकोमा नियमित रूपमा तोरीको तेलले मालिस गर्दा कपालको जरामा पोषण पुग्छ, कपाल झर्ने समस्या घट्छ, र कपाल बलियो र चम्किलो हुन्छ। यसले टाउकोको छाला स्वस्थ राख्छ र ड्याण्ड्रफ हटाउँछ। किशोरकिशोरीदेखि वृद्धसम्मका मानिसहरूले यसको उपयोग गर्न सक्छन्, र यसको परिणाम धेरैजसोले सकारात्मक रूपमा अनुभव गरेका छन्।
घरायसी उपचारमा चोटपटक, मांसपेशी तन्किने, वा सूजन देखापर्दा पनि तोरीको तेल उपयोगी हुन्छ। यसलाई तताएर प्रभावित भागमा लगाउँदा रक्त सञ्चार बढ्छ, पीडा कम हुन्छ, र चाँडै निको पार्न सहयोग पुर्याउँछ। यसमा भएको एन्टी–ब्याक्टेरियल गुणले घाउमा संक्रमण हुन दिँदैन।

तोरीको तेल मधुमेह भएका मानिसहरूका लागि पनि लाभदायक मानिन्छ। यसले शरीरमा इन्सुलिनको संवेदनशीलता बढाउँछ र रक्तमा चिनीको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्छ। मधुमेह रोगीहरूलाई सन्तुलित तेलको प्रयोग गर्न चिकित्सकहरू सुझाउँछन्, र तोरीको तेल त्यसका लागि राम्रो विकल्प हुन सक्छ।
अझ विशेष कुरा के भने, तोरीको तेल केवल खानामा मात्र होइन, धार्मिक, सांस्कृतिक र आयुर्वेदिक परम्परामा समेत प्रयोग हुने गरेको छ। पूजामा दीप बाल्न, देवी देवताको अभिषेक गर्न, वा पर्वहरूमा शरीर शुद्ध गर्ने प्रक्रियामा यो तेल प्रयोग गरिन्छ। यसले हाम्रो जीवनशैलीसँग गहिरो सम्बन्ध बनाएको छ।
तर, तोरीको तेलको प्रयोग गर्दा केही सावधानी आवश्यक हुन्छ। अत्यधिक मात्रामा प्रयोग गर्दा शरीरमा तातोपन बढ्न सक्छ, जसले गर्दा कतिपय मानिसहरूलाई ग्याष्ट्रिक, छालामा एलर्जी वा शरीर पोल्ने जस्ता असर हुन सक्छ। गर्भवती महिलाहरू, स्तनपान गराइरहेका आमाहरू, वा एलर्जी भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहबिना प्रयोग गर्नु हुँदैन। सधैं उच्च गुणस्तरको, शुद्ध र प्रशोधनरहित तोरीको तेल प्रयोग गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ।
अन्त्यमा, तोरीको तेल हाम्रो सांस्कृतिक, पारिवारिक र स्वास्थ्य परम्पराको अभिन्न अंग हो। यसको गुण र उपयोगिताले हामीलाई केवल स्वाद मात्र होइन, स्वास्थ्यको सुरक्षासमेत दिन्छ। आजका भागदौडपूर्ण जीवनशैलीमा जब हामी प्रशोधित फास्ट फूड, चिप्स, कुकीज जस्ता अस्वस्थ विकल्पहरूतर्फ आकर्षित भइरहेका छौँ, त्यही बेला हामीले हाम्रो घरघरमा हुने प्राकृतिक साधनलाई पुनः अपनाउनु अत्यावश्यक छ। तोरीको तेल यस्ता साधनहरूमध्ये एक हो, जसले हामीलाई शरीर, मन र जीवनशैलीमा सन्तुलन ल्याउन सहयोग पुर्याउँछ।
स्थानिय तहहरूमा देखिएको सूचना प्रवाहको अवस्था आर्थिक र सामाजिक जनचेतना र यसमा डिजिटल मिडियाको प्रभावकारि भूमिकालाई अध्ययन गर्दै biratinfo.com को स्थापना गरिएको हो। आजको युग भनेको डिजिटल सञ्चारको युग हो, त्यसमा पनि डिजिटल पत्रकारिता र यसबाट प्रकाशित हुने समाचारहरूले आफ्नै मान्यता राख्छन् ।